
भीमफेदी
२०७९/१२/२०
कवि सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को कविता कृति ‘तिल गङ्गा गोविन्द’ विमोचन गरिएको छ । पौडेलको पहिलो कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ को साहित्यकार तथा पत्रकार रोचक घिमिरेले शुक्रबार काठमाडौमा विमोचन गरेका छन ।
कृति विमोचन कार्यक्रममा साहित्यकार तथा पत्रकार घिमिरेले कवि भीमफेदीयाका रचना सरल, बोधगम्य हुनुकासाथै अनेकौं विम्ब र प्रतिकको बोझबाट मुक्त रहेको बताए । उनले विगतमा कवि भीमफेदीयाको विभिन्न प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरुसँग निकट सम्पर्क रहेकोले त्यसका आधारमा उहाँहरुको संस्मरण लेख्न पनि सुझाव समेत दिएका थिए ।
नेपाल साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले विमोचित कविता सँग्रहमा जीवनपरक कविताहरु रहेको बताउँदै साहित्यिक पत्रकारिताका लागि राज्यले बेग्लै व्यवस्था गर्न जरुरी रहेकोमा जोड दिए ।
‘शब्दपथ’का सम्पादक साहित्यकार किशोर पहाडीले कवि पौडेलसँग आफ्नो करिव पाँच दशक लामो सम्पर्कको चर्चा गर्दै उनका कविताहरु तिख्खर स्वादका हुने बताए ।
लेखक श्रीरामसिंह बस्नेतले प्रस्तुत कविता सङ्ग्रहबाट साहित्यमा कवि भीमफेदीयाको सुखद् पुनरागमन भएको बताउँदै २०३८ देखि २०४२ सम्म प्रकाशित ‘कुरौटे’ साहित्यिक पत्रिका कवि भीमफेदीयाको साहित्यिक पहिचानको एक अभिन्न पक्ष रहेको चर्चा गरेका थिए ।
कृतिकार पौडेल भीमफेदीयाले आफ्नो जीवनका आरोह–अवरोह, संयोग र वियोगलाई कवितामा व्यक्त गर्ने सानो प्रयास स्वरुप सङ्ग्रह प्रकाशित गर्ने जमर्को गरेको बताए ।
तीसको दशकदेखि नै कविता लेखनमा सक्रिय रहेका पौडेल आफ्नो जागिरे जिवनलगायत विभिन्न कारणले साहित्यिक परिदृष्यबाट टाडिएका थिए । जागीरबाट अबकाश पछि कवि पौडेल ‘भीमफेदीया’ पहिलो कविता कृति लिएर पाठकसमक्ष आएका हुन ।
कवि भीमफेदीयाले आफ्नी आमा, फुपू र पिताप्रति समर्पण गरेको यस कृति उहाँहरुकै नामबाट नामाकरण गरिएको छ । पुस्तकमा कविले आफ्नो जीवनका विभिन्न चरणमा लेखेका १ सय २६ वटा कविता समेटिएका छन । पुस्तकमा समाबेस भएका कवितामध्ये ९ वटा अङ्ग्रेजी भाषामा समेत लेखिएका छन् ।
कार्यक्रममा राधेश्याम लेकाली, किशोर पहाडी, मुरारी सिग्देल, विमल भौकाजी, पारु तिमिल्सिना तथा स्वयम् कविले विमोचित पुस्तकबाट कविता वाचन गरेका थिए ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।