December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँ पालीका जस्ले भ्युटावर बनाएनन्। ऐतिहासिक गढीको महत्व राखे।

भीमफेदी

२०७९ अषाढ १२

लेखक: प्रकाश दाहाल

पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको छ।

गढी संरक्षण र सम्बर्द्धनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेर काम गरिरहेका छन् । यो ऐतिहासिक गढीको संरक्षण र विकासमा स्थानीय सरकार भीमफेदी गाउँपालिकाले नेतृत्व लिएको छ। हेटौडा लगायत तराईका कतिपय जिल्लालाई राजधानीसँग जोड्ने छोटो मार्ग मदन भण्डारी (कुलेखानी–सिस्नेरी–काठमाडौं) मार्गमा पर्ने चिसापानी गढी नजिकबाट हजारौं सवारी साधन आवत जावत गर्ने गरेका छन्। सडकको छेउमै पर्ने महत्त्वपूर्ण गढीको संरक्षण तथा सम्बर्द्धन विगतमा नगर्दा यो नासिएर जाने हो कि भन्ने भइरहेका बेला संरक्षण कार्य हुन थालेकाले स्थानीय तथा पुरातत्त्वका क्षेत्रमा चासो राख्ने नागरिकहरूले समेत सन्तोष व्यक्त गरेका छन्। यसको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नेतर्फ विगतमा कसैले चासो नदिदा यसको अस्तित्व मेटिने खतरा बढेको थियो।

इतिहासमा कुनै बेला नेपाल सरकारका तर्फबाट नेपालकै तराई क्षेत्र तथा भारत जाने नेपालीहरूका लागि राहदानी जारी गर्ने, भारतबाट नेपाल आएका विभिन्न यात्रीहरूको प्रवेशआज्ञा वितरण गर्ने र भन्सार एवं राजस्व समेत संकलन गर्ने स्थानको रूपमा यो चिसापानीगढीलाई चिनिन्छ। नेपालमा ३५ वटा मात्रै जिल्ला रहेका बेला हालको चितवन र मकवानपुर जिल्ला सहितको “चिसापानीगढी जिल्ला” पनि यही चिसापानीगढीको नाममा नामकरण  भएको पाइन्छ।

२०१८ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले देशलाई चौध अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि चिसापानी गढी जिल्लालाई चितवन र मकवनपुरमा विभाजन गरियो। जिल्ला विभाजनसँगै चिसापानीगढी मकवानपुरको भूभागमा रह्यो तर यसको चर्चा कम हुँदै गयो। हेटौडा बजारबाट २७ किलोमिटर दूरीमा रहेको यो गढी २०४२ सालसम्म मकवानपुरको सदरमुकामका रूपमा रहेको थियो। पछि सदरमुकाम भीमफेदीबाट हेटौडा सरेपछि झन् ओझेलमा पर्‍यो।
वि.सं. १८०१ मा निर्माण भएको मानिने चिसापानी गढीको संरक्षण र पुनर्निर्माणमा हाल भीमफेदी गाउँपालिकाले नेतृत्व लिएर काम गरिरहेको छ। २ वर्ष अगाडि गढीको संरक्षण र पुनर्निर्माणका लागि ४६ लाख रुपैयाँबाट काम शुरु भएको थियो। उक्त रकमबाट भत्किएका भग्नावशेषको पुनर्निर्माण गर्ने, संरक्षणका लागि तारजाली गर्ने, पर्यटकका लागि पैदलमार्ग निर्माण गर्ने, सरसफाइ गर्ने लगायतका काम अहिले भइरहेको छ।

हाल गढी क्षेत्रको बृहत्तर विकासका लागि रु २८ करोडको योजना अघि सारेको गाउँपालिकासँग संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत सहकार्य गरेको छ। हाललाई मन्त्रालय र गाउँपालिकाको सहलगानीमा तयार गर्ने योजना बनाइएको छ। अहिले ५ करोडको योजनामा बोलपत्रबाट ३ करोड ७ लाखमा ठेक्कामार्फत काम भैरहेको गाउँपालिकाका योजना शाखाका प्रमुख बद्री सापकोटाले जानकारी दिनुभयो।*

यसमा ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत गाउँपालिकाको लगानी रहेको छ। गढीको भित्री भाग पुरातत्त्व विभागले संरक्षण तथा पुनर्निर्माण गर्ने भएको छ। अहिले कम्पाउण्ड वाल, गेट, इनार ढुंगा सोलिङ, गार्ड हाउस लगायतका कामहरू भइरहेका छन्। २०८० सालसम्म काम सक्नेगरी भएको ठेक्का सम्झौताको ३३ प्रतिशत काम सम्पन्न भइसकेको भीमफेदी गाउँपालिकाले जनाएको छ।


तत्कालीन राजा महेन्द्रले २०१८ साल वैशाख १ गते देशलाई चौध अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि चिसापानी गढी जिल्लालाई चितवन र मकवनपुरमा विभाजन गरियो। जिल्ला विभाजनसँगै चिसापानीगढी मकवानपुरको भूभागमा रह्यो तर यसको चर्चा कम हुँदै गयो। हेटौडा बजारबाट २७ किलोमिटर दूरीमा रहेको यो गढी २०४२ सालसम्म मकवानपुरको सदरमुकामका रूपमा रहेको थियो। पछि सदरमुकाम भीमफेदीबाट हेटौडा सरेपछि झन् ओझेलमा पर्‍यो।


इतिहासमा उल्लेख भए अनुसार वि.सं. १८०१ सालमा मकवानपुरका सेनराजाको पहलमा नजिकैका महत गाउँका वासिन्दाले गढीको निर्माण गरेका हुन्। लगत्तै नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले यो गढीको पुनर्निर्माण गराए। उपत्यका विजय गर्न पृथ्वीनारायणले  चिसापानी गढी तथा चन्द्रागिरी गढीको प्रयोग गरेको इतिहास पढ्न पाइन्छ। साथै गोर्खालीलाई आक्रमण गर्न आएका अंग्रेज फौजलाई यही गढीमा पराजित गरिएको इतिहास छ।
नेपाल सरकारले नै नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखेको बताएपछि चिसापानीगढी तथा मकवानपुरका अन्य गढीहरूको पनि संरक्षण र सम्बर्द्धनका कामहरू शुरु भएका छन्। ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति सरकारले लिएका कारण पनि मकवानपुरसहित अन्य जिल्लामा रहेका गढीहरूको पनि संरक्षण शुरु भएको छ। गढी र किल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दा त्यसले दिगो पर्यटन विकाससँगै आर्थिक लक्ष्य पनि प्राप्त हुने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा बताउनुहुन्छ।

यस गढीमा यत्रतत्र रहेका तोप, गोलालाई पनि समेटिएर राखिएको छ। किल्ला भित्र अहिले पनि काली तोप, आकाशे तोप लगायतका युद्ध सामग्रीहरू रहेका छन्। काली तोप नेपाल अंग्रेज युद्धको बेला सन् १८१४ देखि सन् १८१६ को समय अर्थात् विक्रम सम्वत १८७१ देखि १८७३ सम्ममा देशको सुरक्षाको लागि राखिएको भन्ने जनमानसमा चर्चा हुने गरेको छ। मकवानपुरगढी, सिन्धुलीगढी जस्तै यस क्षेत्र भएर कतै शत्रु आएमा अंग्रेजको सेनालाई लखेट्न यसको निर्माण भएको थियो। पृथ्वीनारायण शाह तथा पछि राणाका पालामा बनेका भवनहरू अझै पनि यस क्षेत्रमा रहेका छन्। अग्रजहरूका अनुसार वि.सं. २०२४ सालसम्म क्षेत्रीय कारागार यही गढी परिसरमै थियो।

चिसापनी गढीको काली तोप एक पटक मात्र प्रयोगमा आएको बताइन्छ। यो तोप पड्काउँदा यसको आवाजले यस किल्लावरपर रहेका गर्भवति महिलाको गर्भमा समेत असर पारेकाले गर्भवति महिलालाई यसको वरपर जान तत्कालीन समयमा निषेध गरिएको थियो। यो चलन केही वर्षसम्म पनि र छिटफुट रूपमा आजसम्म पनि कायम छ। अहिले पनि सो स्थानमा रहेको बटुक भैरब मन्दिरमा महिलाहरूलाई नजान सल्लाह दिइन्छ।