December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

सुभास सरको सस्मंरण मा भीमफेदी।

भीमफेदी

२०७९/०२/१५

संस्मरण
भीमफेदीको हाम्रो स्कूल
सुभाचन्द्र पौडेल
भीमफेदीया

    

विद्यालय मकवानपुर जिल्लाकै पहिलो सरकारी विद्यालय हो।वि.सं.२००४ सालमा स्थापित यस विद्यालय हाल आएर उच्च माध्यमिकको रूपमा परिणत भइसकेको छ।भीमफेदी निवासी जनताका छोराछोरी मात्र नभइ यस विद्यालयमा भीमफेदी वरिपरिका गाउँ लगायत शहरका केटाकेटीहरुले समेत यसै स्कूलबाट शिक्षा आर्जन गर्ने गर्दथे।भीमफेदीसँग जोडिएका गाउँहरु जस्तै सुपिङ्ग,दम्की,दमार,जुरिखेत,गढी र देउरालीका निवासीहरु पनि आफ्ना छोराछोरीलाई पढ्नका लागि भीमफेदी स्थित महेन्द्र हाइ स्कूलमा पठाउने गर्दथे।साथै भैँसेदेखि,चुनिया नामटार,भैँसीखानी,हेटौँडा,बुढीचौरका विद्यार्थीहरु समेतले शिक्षा आर्जन गर्ने मुख्य थलो बनेको थियो भीमफेदीको पहिलो तथा एक मात्र सरकारी हाइ स्कूल महेन्द्र माध्यमिक विद्यालय।
अन्य ठाउँहरुमा पनि स्कूल भए पनि पाँच कक्षासम्म पढाइ हुने गर्थ्यो।छ कक्षादेखि दश कक्षासम्म पढ्नको लागि भीमफेदीमै आउनु पर्ने हुन्थ्यो।धेरै वर्षपछि मात्र हेटौँडामा दश कक्षासम्म पढाइ हुने भएपछि त्यस क्षेत्रका विद्यार्थीलाई भीमफेदीसम्म धाउनु परेन।भीमफेदी वरपरबाट आउने विद्यार्थीहरुका लागि स्कूल परिसरभित्र नै छात्रावासको सुविधा थियो।स्कूल भवन अगाडि लस्करै कोठाहरु बनाइएका थिए।त्यस बाहेक स्कूल भवनको दक्षिणतिर एउटा अर्को दुई तल्ले भवन थियो।स्कूल भवनको ठीक पछिल्तिर खेतीयोग्य खाली जमीन र लहरै तीन चार वटा शौलाय थियो भने स्कूल भवनको तीनतर्फ छात्रावास र उत्तरतर्फ पिउने पानीको धारा थियो।स्कूल भवन र छात्रावास अगाडिको फराकिलो ठाउँमा हामी सामूहिक राष्ट्रिय गान तथा सरस्वती वन्दनाका लागि भेला हुने गर्दथ्यौँ।त्यहीँ हाम्रो पहिलो हाजिरी पनि लिइन्थ्यो।त्यही प्राङ्गणमा हामी खेलकूद पनि गर्दथ्यौँ।भीमफेदीको स्वच्छ हावापानी र स्वस्थ्य वातावरणमा पढ्न पाउँदा सबै विद्यार्थी दङ्ग पर्दथे।छात्रावासमा बस्ने गरेका आफ्ना साथीहरु आफैँले पकाएर खाने गरेको र मन लगाएर पढ्ने गरेको देख्दा हामी भीमफेदीका रैथानेहरुलाई पनि त्यसै गरी छात्रावासमा बस्न पाए हुनथ्यो भनेर रहर लाग्दथ्यो।एउटा कोठामा कम्तिमा पनि दुई जनाको दरले विद्यार्थीहरु बसेका हुन्थे।छात्रावासमा नअटेकाहरुले बजारमा छुट्टै डेरा लिएर पनि बस्ने गर्दथे।स्कूलको पढाइको गुणस्तर ज्यादै राम्रो भएकोले पनि भीमफेदीमा पढ्नेहरुको आकर्षण थियो।स्कूलका प्रायः जसो शिक्षक भारतीय वा तराई मूलका हुने गर्दथे भने पहाडका शिक्षहरु पनि एकसेएक विद्वान र अनुभवी हुने गर्दथे।भीमफेदी शैक्षिक क्षेत्रको लागि एउटा उदाहरणीय स्थलको रुपमा लिने गरिन्थ्यो।भीमफेदीको महेन्द्र हाइ स्कूलमा पढेका व्यक्तिहरु तत्कालीन श्री ५ को सरकारको उच्च पदमा समेत पुगेका छन् भने कोही डाक्टर कोही इन्जिनियर कोही हवाई जहाजका प्राविधिक समेत बनेका छन्।भीमफेदीको स्कूलबाट उत्पादित धेरै जसो व्यक्तिहरु आ-आफ्नो क्षेत्रमा सुविख्यात छन्।कोही स्कूलका शिक्षक कोही कलेजका प्राध्यापक बनेका छन् भने कोही बैंक म्यानेजर त कोही सरकारी कार्यालयका प्रमुख त कोही सफल व्यापार व्यवसायी एवम् कोही ठूला तथा नामी ठेकेदार समेत बन्न सकेका छन्।लेखक कवि,न्यायाधिश तथा राजदूत समेत बनेका छन् भीमफेदी निवासी र भीमफेदीमा पढ्नेहरू।हामीले पढ्ने बेलासम्म स्कूलको कुनै खास पोशाक थिएन।गच्छे अनुसारको लुगामा विद्यार्थी पढ्न आउने गर्दथे।हुनेखानेले राम्रो लुगा र जुत्ता लगाएर आउने गर्दथे भने नहुनेहरूले साधारण कपडा र चप्पल लगाएर आउने गर्दथे।कतिपय गरीबहरु खाली खुट्टामा समेत आउने गर्दथे तर पढाइ सबैको लागि बराबरी हुने गर्थ्यो।सानो ठूलो वा गरीब धनी भनेर भेदभाव हुँदैनथ्यो।सबै खालका विद्यार्थीका लागि सरस्वतीको मन्दिर मानिने स्कूलको ढोका सधैँ खुला रहन्थ्यो।भीमफेदीको स्कूललाई अब्बल तथा विद्यार्थीहरूलाई योग्य बनाउनुमा स्कूलका तत्कालीन शिक्षक तथा शिक्षिकाहरू तथा स्कूल सञ्चालक समितिको ठूलो हात रहेको पाइन्छ।त्यस बेलाका शिक्षकहरूमा टंकनाथ पराजुली, धर्मनाथ सुवेदी,नरकान्त मिश्र,रघुनाथ,शोभाकान्त,चन्द्रकान्त ओझा,रूकमाङ्गत ज्ञवाली,शोभा श्रेष्ठ,सुनकेशरी ताम्राकार,उत्तरा श्रेष्ठ तथा प्रधानाध्यापकहरु डम्बरध्वज थापा,के.बि.श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ,धनलाल श्रेष्ठ,केशव मूल्मीको प्रमुख योगदान रहेको देखिन्छ।आफू पढेको सोही स्कूलमा यस लेखकले पनि झण्डै तीन वर्षजति शिक्षक बनेर पढाउने सुवर्ण अवसर प्राप्त गरेको थियो।त्यतिखेरका शिक्षक शिक्षिकाहरूमा धनलाल श्रेष्ठ,केशवनारायण मूल्मी, चन्द्रेश्वर,रामचन्द्र सिंह,तुल्सी थापा,वनमाली सुवेदी,अर्जुन बिंडारी,म सुभाष,हनुमानसिंह लामा,चिनीहेरा शाक्य, गङ्गा मूल्मी,सविता जोशी,अम्बिका शर्मा,मदन मानन्धर,उमा प्रधान र सानुमैँया दली थियौ।धनलाल श्रेष्ठ प्रधानाध्यापक हुँदा मैले स्कूलको शिक्षकमा प्रवेश गरेको थिएँ भने केशवनारायण मूल्मी प्रधानाध्यापक हुँदा समेत मैले स्कूलमा पढाउने काम गरेँ।राष्ट्रिय वाणिज्य बैंक भीमफेदी शाखाबाट मलाई बैंकमा काम गर्ने प्रस्ताव आएपछि मात्र मैले स्कूलको शिक्षण पेशा छाडेर बैंकिङ्ग क्षेत्रमा लागेको हुँ।मैले पढेको र मैले पढाएको स्कूल श्री महेन्द्र हाइ स्कूलको शैक्षिक गुणस्तर र अनुशासन सायद अद्यापि कायम रहेको छ।

जुत्ताको पहिचान

हामी निम्न मध्यम वर्गीय परिवारका थियौँ।साधारण भए पनि एक जोर स्कूल जाने लुगा हुने गर्दथ्यो भने अरू एक दुई जोर लुगा र साधारण जुत्ता।हाम्रो आफ्नै घरभन्दा माथि जग्गामा गुण्टे सार्कीको घर थियो।गुण्टे सार्की र उनको एक मात्र छोरो सीताराम सार्कीले भनेजस्तो राम्रो तथा गुणस्तरीय छालाको जुत्ता सिलाउने गर्दथे।वीरगंजमा र भारतको सीमावर्ती शहर रक्सौलमा बाटा कम्पनीको जुत्ता पाइन्थ्यो।बाटाको जुत्ता र आफ्नै स्वदेशमा बनेको बाँसवारी छाला जुत्ता कारखानाको छालाको जुत्ता लगाउने हैसियत नभए पनि गुण्टे सार्की र सीताराम सार्कीले सिलाएको छालाको जुत्तालाई सबैले मन पराउँथे।
सीताराम र गुण्टे सार्कीको कुरा गर्दा एउटा कुराको सम्झना आउँछ।ती दुबै बाबु छोरा रक्सी पिउनमा ज्यादै अम्मली थिए।बिहान सबेरैदेखि रक्सी पिएर काम गर्न बस्थे।गुण्टे सार्कीले रक्सी नपिइकन काम नै गर्न सक्दैनथे।स्टिलको गिलासमा टन्न रक्सी हालेर दुई गिलास नतन्काइकन उनको कामेको हात
रोकिन्नथ्यो।शुरूको एक गिलास रक्सीमा आधाभन्दा बढी त पोखिएर खेर जान्थ्यो।दुई तीन गिलास रक्सी पेटभित्र पसेपछि मात्र उनको हात काम्न छाडेर काम गर्न सक्ने हुन्थे।दिनभरिमा बाबु छोराले तीन चार पटक रक्सी पिउने गर्थे।जति नै रक्सी पिएर मात्तिए पनि जुत्ता सिउने काम भने राम्रोसँग गर्ने गर्थे।ती बाबु छोराले सिलाएको जुत्ता र मर्मत गरेको जुत्ता चप्पल आदि सबै टिकाउ हुनेगर्थ्यो।रक्सीले मात्तिएर कसैलाई गाली गलौज गर्ने र हानी नोक्सानी हुने काम कहिल्यै गरेनन्।बरू दुबै बाबु छोराको हाँसो मजाक गर्ने बानी थियो।गाउँभरका मान्छेलाई रिझाएर राखेका थिए।उनीहरू बस्ने घर छुट्टै थियो दम्की भन्ने ठाउँमा।बिहान सबेरैदेखि रातको अबेरसम्म चाहिँ हाम्रै घरभन्दा माथिको घरमा जुत्ता सिलाइ र मर्मतको काम गर्थे।बर्सातको याममा खहरे खोला बढेको बेलामा मात्र बजारको घरमा बस्ने गर्दथे भने अरू बेला आफ्नो परिवारसँग दम्कीमै बस्ने गर्दथे।
एक पटक दशैँको लागि नयाँ जुत्ता सिलाउन भनेर मेरो बुबाले गुण्टे सार्कीलाई नगद रू ५००/- दिनु भयो।त्यो नगद रकम लिएर गुण्टे सार्की भीमफेदीबाट कुलेखानी मार्खु तथा चितलाङ्ग हुँदै चन्द्रागिरी डाँडो काटेर पैदल काठमाडौं गए।थानकोटमा भैँसीको काँचो छाला पाइन्छ भनेर।तीन चार दिन बसेर उनले ट्यानिङ्ग गरेको कालो चिल्लो मुलायम भैँसीको छाला ल्याएपछि हामी तीन भाइ छोरा र बुबाको लागि गुण्टे र उनको छोरा सीतारामले एकैनासको जुत्ता सिलाइ दिए झण्डै एक महिना लगाएर।जुत्ता ज्यादै आकर्षक,बलियो,आरामदायी बन्यो।दशैँमा नयाँ जुत्ता लगाउनु पाएर हामी तीनै जना दाजुभाइ मक्ख भयौँ।रू ५००/-मा हाम्रो लागि चार जोर जुत्ता बनाएर पनि अरु धेरै जोर जुत्ता सिलाएर गुण्टे र सीतारामले बाँकी पैसाले धेरै दिन चलाए।यो प्रसङ्ग सायद वि.सं.२०२७ सालतिरको हो।
दशैँपछि पनि हामीले त्यही जुत्ता लगाएर स्कूल जान थाल्यौँ।नयाँ जुत्तामा सबै साथी भाइको आँखा नपर्ने कुरै भएन।कहाँ किनेको भनेर सोध्दा हाम्रो छिमेकी गुण्टे र सीताराम दाइले सिलाएको नयाँ जुत्ता भनेर हामी पनि गर्वका साथ भन्ने गर्थ्यौँ।गुण्टे सार्की र सीताराम सार्कीलाई हाम्रो परिवारले कहिल्यै पनि दलित भनेर हेप्ने गरेनौँ।बरू दुबै बाबु छोरालाई दाइ भनेर नै सम्बोधन गर्थ्यौँ।गाउँ घरका अरू दलित जातिका कसैलाई पनि तँ र तिमी भनेर बोलाउँदैनथ्यौँ।बरू नाम काटेर दाइ भन्ने गर्थ्यौँ।गुण्टे सार्की र सीताराम सार्कीको शिल्प हाम्रो छालाको जुत्ता सबैको नजरमा चढेछ।सबैले मन पराएपछि अरूहरूले पनि अर्डर दिएर बनाउन थाले।त्यसपछि अर्को वर्षको कुरा हो।एक आइतवारका दिन देउराली निवासी मित्र दूतबहादुर थापाले मलाई कक्षामा भेट हुनासाथ तेरो घरमा काम गर्ने कोही छ भनेर सोधे।मैले हो एक जना सहयोगी दाइ छ गाईको स्याहार सुसार गर्ने घाँस काट्ने र घरायसी काम गर्ने एउटा छ भनेपछि साथीले फेरि उसको नाम सोधे।उसको नाम बलराम क्षेत्री हो मैले भनेँ।हिजो शनिवारका दिन ऊ कहाँ थियो उनले फेरि सोधे।मैले दिदीको घर चितलाङ्ग गएको थियो भनेर जवाफ दिएपछि बल्ल अब ढुक्क भइयो त्यो केटो चोर हैन भनेर उनले एकै सासमा भने।मैले उनको कुरा बुझ्न सकिनँ। मेरो साथी दूतबहादुर थापाले पूरा कहानी अर्थ्याउनु थाले।कुरा के भएको रहेछ भने बलरामले मेरो माहिलो दाजुको छालाको जुत्ता लगाएर डोकोभरि पसलका सामानहरु बोकेर दिदीको घरतर्फ लागेको रहेछ।चितलाङ्गमा भेँडा गोठ भन्ने ठाउँनेर भिनाजुको आफ्नै घरमा पसल थियो।भिनाजुहरु बस्ने घर चाहिँ पारिपट्टि थियो।भिनाजुको पसलको लागि चाहिने चिनी,चिया पत्ति,नून, साबुन,चुरोट आदि वस्तुहरु भीमफेदी बजारबाट बुबाले किनेर पठाइ दिनु हुन्थ्यो।चितलाङ्गबाट भिनाजुले आलु,लप्सी,अन्य मोसमी तरकारीहरु पठाइ दिनु हुन्थ्यो हाम्रो लागि।भिनाजुले भीमफेदीबाट पठाएका सामानहरुको पैसा भारी बोकेर लैजाने व्यक्तिकै हातबाट पठाउने गर्नु हुन्थ्यो।यो पटक पनि त्यसै गरी सामनहरु पठाउनु भएको थियो बुबाले बलरामलाई भारी बोक्न लगाएर।चितलाङ्ग जाँदा आउँदा हामी देउराली भन्ने ठाउँमा केही बेर आराम गर्न बस्ने गर्दथ्यौँ।देउरालीमा हाम्रै स्कूलमा पढ्ने साथीहरु दूत बहादुर,गुण बहादुर थापा नाम गरेकाहरु र उनीहरुको दिदीको एउटा चिया पसल थियो।त्यही चिया पसलमा बसेर चिया नास्ता खाएर सुस्ताएपछि मात्र हामी पुनःहिँड्ने गर्दथ्यौँ।त्यो दिन बलराम पनि सोही पसल अगाडि डोको बिसाएर चिया पिउन लाग्दा हाम्रो साथी दूतबहादुरले बलरामको खुट्टामा मेरो माहिलो दाजुको जुत्ता देखेर उनलाई शङ्का लागेछ।अनि उनले बलरामलाई केर्न थालेछन्।दाइलाई सानो भएर यो जुत्ता मलाई लगाउन दिनु भएको हो भनेर बलरामले भने पनि साथीले विश्वास नगरेर डोको समेत खानतलासी लिन थालेछन्।धन्य, बलरामले आफ्नो गोजीबाट बुबाले भिनाजुलाई लेख्नु भएको चिठी देखाउन भ्याएछ र चिठीको ब्यहोरा पढेपछि मेरो साथी दूतबहादुर थापाले सबै कुरा बुझेछन्।मनमा अझै शङ्का लागे पनि बलरामलाई चितलाङ्ग जान दिएछन्।दूतबहादुर साथीको आफ्नै दाजु एकबहादुर थापा प्रहरी सेवामा कार्यरत थिए। त्यही भएर पनि बलराम डराएको रहेछ कतै चोर ठानेर थुनी देलान् भनेर।बलराम आइतवार नै भीमफेदी फर्किनु पर्ने थियो।आइतवार स्कूल पुगेपछि हामीलाई सोधेपछि मात्र बलराम चोर हो या हैन भनेर थाहा हुन्छ।ल जा तँ अहिलेलाई छाडिदिएको छु भनेर बलरामको सातो लिएका रहेछन् साथी दूतबहादुरले।बिचरो बलराम डरले थुरथुर भइ चितलाङ्गबाट फर्कदा चिया खान देउरालीमा नरोकिएर देउरालीबाट एकै सासमा दौडिएर भीमफेदी आइपुगेछ।हामी स्कूलमै थियौँ।बलराम हाम्रो घरको एउटा सदस्य हो भन्ने थाहा पाएपछि मात्र साथीले चितलाङ्ग जाँदा आउँदा रोक लगाएनन् र बलराम पनि ढुक्क भएर चिया नास्ता खान दिदीको पसलमा छिर्न थाल्यो।एक जोर जुत्ताले कमालको काम गर्यो।धन्य हाम्रा शुभचिन्तक साथीहरु।ती सबै साथीहरु प्रहरी सेवामै प्रवेश गरी अवकाश समेत भइसके।यो लेखक नेपाल बैंक लिमिटेड,हेटौँडामा कार्यरत रहँदा साथीहरु आफ्नै शाखामा पेन्सन थाप्न आउँदा भेटघाट हुने गर्थ्यो।हामी पुरानो कुरा सम्झिएर हाँस्ने गर्थ्यौँ।अझै पनि केही साथीहरु सम्पर्कमा छन्।एकबहादुर दाइको सुपुत्र टक्कर थापासँग सामाजिक सञ्जालमा भेट भइराख्छ।टक्कर थापा पनि मेरा मित्र हुन्।कतिपय पात्रहरु अहिले यस धरतीमा छैनन् ।एक जोर साधारण जुत्ताको पहिचानले हाम्रो विगतलाई भने सधैँभरि ताजा गराइरहन्छ।