April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

पृथ्वी चन्द्र अस्पताल ७० वर्ष माथि उमेर समूहका १५ जना जेष्ठ नागरिकहरु बाट संयुक्त शिलान्यास।

भीमफेदी
२०७८/१२/१०

  ७० वर्ष माथि उमेर समूहका १५ जना जेष्ठ नागरिकहरुलाई संयुक्त शिलान्यास गर्न लगाएर पृथ्वी चन्द अस्पताल निर्माण कार्यको सुरुवात गरेको छ ।
भीमफेदी–६ मा बन्न लागेको अस्पतालको लागत १२ करोड ६१ लाख ९२ हजार ७५७ रुपैयाँ ३६ पैसा रहेको छ । मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त अस्पताल विस २०८१ फागुन १५ गतेसम्ममा सम्पन्न हुने ३ वर्षे ठेक्का अबधि रहेको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै टेन्डर प्रक्रियाबाट ठेक्का पाएका रबिना नवसिर्जनशिल जेभीका प्रतिनिधि बिक्रम चौलागाईले अस्पताल निर्माण कार्य समय अवधिमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।


यसैगरि कार्यक्रममा बोल्दै गाउँपालिकाका इन्जिनियर सुन्दर बर्तौलाले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसारनै सेवा, सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्न लागेको बताए । उनले ३ वटा ब्लकमा निर्माण हुन लागेको अस्पतालमा लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने बताए ।


यसैगरि,कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीले गाउँपालिकाले विकास निर्माणका कामहरु गर्दै आएको बताईन् । उनले जिल्ला समन्वय समितिले गाउँपालिकाको प्रशासनिक भवन निर्माण लगाएत विभिनन सहयोग गरेको बताउँदै आउँदो दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो कार्य अविधिमा स्वास्थ्य क्षेत्रमा उल्लेखिनिय कामहरु भएको बताए । उनले गाउँपालिकाको सबै वडाहरुमा स्वास्थ्य भवन निर्माणको कामहरु भईरहेको समेत बताए । उनले स्थानीय सरकार आएदेखि गाउँपालिकामा भौतिक क्षेत्रको विकास,आर्थिक,सामाजिक सुरक्षा क्षेत्रको विकास अघि बढेको बताए । उनले आफु निर्वाचित भएर आएकै वर्षमा स्वास्थ्य भवन निर्माण गर्ने तयारी बढाएको तर जग्गाको अभावले पहिलो वर्षको बजेट फ्रिज भएको स्मरण गरे ।
अध्यक्ष लामाले सरकारको स्वास्थ्य मन्त्रालय,नेपाल हेल्थ सेक्टर सर्पोट प्रोगाम र पुरातत्व विभागको सहयोग र गाउँपालिको कर्मचारीहरुको साथ र सहयोगमा स्वास्थ्य भवन निर्माणको शिलान्यास भएको बताए । उनले गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई ल्याएर भवनको शिलान्यास गर्न लगाएको भन्दै खुशि व्यक्त गरे । उनले पछिल्लो समयमा जेष्ठ नागरिकहरुलाई वृद्धाआश्रममा लैजाने प्रवृति गलत भएको भन्दै जेष्ठ नागरिकहरुलाई घर परिवार,समाज,स्थानीय तह र सरकारले सम्मान गर्नुपर्ने बताए ।
अध्यक्ष लामाले अस्पतालको शिलान्यास गर्ने १५ जना जेष्ठ नागरिकहरुलाई अस्पतालबाट आजीवन ओपिडी सेवा निशुल्क हुने समेत घोषणा गरे ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना,प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन,वडा अध्यक्षहरु,वडा सदस्यहरु,गाउँपालिकाका कर्मचारी,राजनीतिक दलहरुका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।