March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

प्राप्त संवैधानिक उपलब्धीको रक्षामा सबै लागौं : सामाजिक विकास मन्त्री मोक्तान

भीमफेदी, मकवानपुर

२०७८/०९/२१

मकवानपुर । हाल देशमा प्राप्त उपलब्धीहरुको विरुद्ध आवाज उठाउने काम भएको बताउँदै परिवर्तनकारी पक्षधर शक्तिहरु सबै यसको रक्षामा लाग्नुपर्ने बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएका छन् । बुधबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले सो कुरा बताएका हुन् ।

जनताले उपलब्धीका रुपमा प्राप्त गरेका अधिकारहरुको रक्षा गर्दै थप अधिकारकालागि आफ्नो पक्षबाट पहल गर्नुपर्ने कार्यक्रममा उनले उल्लेख गरिन् । फोनिजको स्थापना आवश्यकताका आधारमा भएको बताउँदै उनले राज्यले गर्ने असमान व्यवहारहरुको कारण आवश्यकता महशुस गरेर यस किसिमका संगठन स्थापना हुने मन्त्री मोक्तानले उल्लेख गरेकी छन् ।

यसैगरी, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्री निमा लामाले संचार क्षेत्रप्रति हालको बागमती प्रदेश सरकार सकरात्मक रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । उनले यसअघि बागमती प्रदेश सरकारले आफैँ मिडिया चलाउने गरि बजेट विनियोजन भएकोमा हालको सरकारले उक्त व्यवस्था खारेज गर्नेतर्फ प्रकृया अघि बढाइसकेको उल्लेख गरेका छन् ।

खानेपानी तथा उर्जामन्त्री वसन्त मानन्धरले संचारमैत्री वातावरण निर्माणकालागि आफ्नोतर्फबाट जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । पछिल्लो समय समावेशीता औपचारिकतामा मात्रै सीमित हुन थालेको भन्दै यस विषयमा संचारकर्मीहरु चनाखो बन्न उनले आग्रह गरेका छन् ।

यस्तै, भौतिक पूर्वाधर तथा योजना राज्य मन्त्री सन्तबहादुर चेपाङले संघीयता कार्यान्वयनमा रहेकाले सबैको सकरात्मक सहयोगमा सफल हुँदै जाने बताएका छन् ।

फोनिजद्वारा दुई जना पत्रकार सम्मानित, दुई पुरस्कृत

फोनिज बागमती प्रदेशको दोस्रो अधिवेशनका क्रममा दुई जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा फोनिज आवद्ध अग्रज पत्रकारहरु अम्मरध्वज लामा, बुद्ध योञ्जन रहेका छन् । सम्मानित हुने दुबैजनालाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत हुनेमा मकवानपुरबाट कृष्ण सारु मगर, धादिङबाट सरिता श्रेष्ठ रहेका छन् ।

यसैगरी, प्रादेशिक अधिवेशन व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै रामेछाप र मकवानपुर फोनिज जिल्ला समितिलाई कदर पत्रद्वारा सम्मान गरिएको छ ।

अधिवेशनको औपचारिक कार्यक्रमका अवसरमा झाँकी, तामाङ, मगर, गुरुङ, थारु समुदायको साँस्कृतिक नृत्य प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । अधिवेशन अघि प्रभातफेरी समेत भएको थियो भने र्यालीले हेटौंडा बजार परिक्रमा गरिएको थियो ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका पूर्व अध्यक्ष प्रताप विष्ट, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहाल, वर्तमान अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापालगायत विभिन्न मिडिया संगठनका प्रतिनीधि एवम् संचारकर्मीहरुको उपस्थिति थियो ।