April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

कोरोना भ्याक्सिन को प्रकार र यस्को उपयोगिता प्रभाब बारे जनधारणा।

कोभिसिल्ड

नेपालमा आयात गरिएको पहिलो कोभिड भ्याक्सिन कोभिसिल्ड हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट स्वीकृति प्राप्त यो खोप भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । यो खोपको १० लाख डोज पहिलो चरणमा नेपाल आएको थियो ।

अहिलेसम्म यो खोपको ३४ लाख ४८ हजार डोज नेपाल आइसकेको छ । नेपालमा कोभिसिल्ड १८ लाख २८ हजार ४ सय ८४ जनाले पहिलो डोज लगाइसकेका छन् । त्यस्तै चार लाख ६० हजार ७ सय ३४ जनाले दोस्रो डोज पनि पाइसकेका छन् ।

यो खोपको विश्वासनीयतामा अहिलेसम्म प्रश्न उठेको पाइँदैन । परीक्षण गरेर नै नेपाल पठाइएको हुनाले यसको विश्वास गर्न लायक रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन ।

पहिलो पटक यो खोप लगाउँदा मानिसहरुलाई जिउ दुख्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखिएको थियो । यो ‘भाइरल भेक्टर भ्याक्सिन’ हो । यसको निर्माण गर्दा एरिनो भाइरसलाई प्रयोग गरिन्छ । शरीरभित्र कोरोना भाइरसको केही अंश प्रवेश गराई विभिन्न प्रविधिबाट प्रतिरोधात्मक क्षमता निर्माण गर्न यसले मद्दत गर्छ । ‘नन रिप्लिकेटिभ भाइरल भेक्टर’ मा आधारित यस खोपले शरीरमा प्रोटिन निमार्णमा सहयोग गर्छ ।

त्यस्तै, खोप विकासको अर्को प्रविधिमा भाइरसलाई निष्क्रिय पारिन्छ । तर, त्यसो गर्दा केमिकल तथा विभिन्न रसायनको प्रयोग गरी सुरक्षित बनाइन्छ । भारत बायोटेकबाट उत्पादित र भारतको नियमनकारी निकायले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको कोभ्याक्सिन नामक यो प्रविधिमा आधारित भ्याक्सिन हो । भारतको नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोना भााइरसको एक नमूना प्रयोग गरी यो खोपको विकास गरिएको हो ।

दुई दशक पुरानो यस कम्पनीले १६ थरिका खोप बनाई १२३ देशमा आपुर्ति गरिसकेको बिबिसीको एक रिपोर्टमा जनाइएको छ । तर, यो खोपको तेस्रो चरणको परीक्षण र यसको विकासक्रमबारे प्रश्नहरु उठेका थिए ।

यसबारे डा. पुन भन्छन्, ‘विश्वसनीय छ । यसको प्रयोग विभिन्न देशहरुमा परीक्षणपछि मात्रै गरिएको छ । सोही अनुरुप नेपालमा पनि यसको प्रयोग गरिएको हो ।’

भेरोसेल 

चीनमा उत्पादित यो खोप नेपालमा २८ लाख डोज आयात भइसकेको छ । चिनियाँ भेरोसेलको पहिलो डोज १४ लाख ८० हजार २ सय ४६  जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै, ६ लाख ८२ हजार ७ सय ९० जनाले यस खोपको दोस्रो डोज पनि प्राप्त गरिसकेका छन् । यसको ४० लाख डोज सरकारले चीनसँग खरिद गरेको हो ।

यो खोपको विश्वसनीयताबारे भने डा. पुन भन्छन्, ‘यो खोपले कोभिसिल्डको जस्तो जिउ दुख्ने, ज्वरो आउनेजस्ता असर देखाएको छैन ।’ भेरोसेल भाइरसलाई निष्क्रिय बनाएर बनाइएको भ्याक्सिन हो । यसमा कोरोना भाइरसका किटाणुहरुलाई निष्क्रिय बनाएर शरीरमा प्रवेश गराइन्छ ।

यो खोप नेपालमा प्रभावकारी देखिएको छ । अन्यको तुलनामा धेरै मानिसले भेरोसेल लगाइसकेका छन् । डा. पुन भन्छन्, ‘यसको असर कस्तो छ अथवा अहिलेसम्म कत्तिको प्रभावकारी भएको छ भन्ने सामान्य कुराहरु थाहा भइसकेको छ । यसलाई नेपालमा अहिलेसम्म लगाइएका खोपहरुमा सफल मान्न सकिन्छ ।

जोनसन एन्ड जोनसनको खोप 

संसारमा अहिलेसम्म कोभिडविरुद्ध लगाउन मिल्नेमध्ये जोनसन एन्ड जोनसनको खोप पनि एक हो । अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीद्वारा उत्पादित यो खोपको १५ लाख ३४ हजार डोज नेपालले कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त गरेको हो । यसलाई डब्ल्यूएचओले पनि लगाउन अनुमति दिइसकेको छ । यसलाई अमेरिकी एफडीएबाट पनि संसारभरि लगाउन मिल्ने अनुमति दिइएको हो ।

नेपालको स्वास्थ्य मन्त्रालयबाट पनि १८ वर्षमाथिका सर्वसाधरणमा यो खोप लगाउने अनुमति दिएको छ । यसले पछिल्लो समय नेपाली बजार राम्रै तताएको छ । यो खोप अन्यभन्दा फरक खालको छ । यो खोप एक डोज मात्रै लगाए हुने भएका कारण यसको प्रभावकारिताबारे चर्चा चुलिएको हो ।

यो खोपका कारण न्युरोलोजिकल डिसअर्डर जस्ता समस्या आउने कुराहरु पछिल्लो समय नेपाली बजारमा धेरै सुनियो । यसबारे डा. पुन भन्छन, ‘यो खोप धेरै मानिसमा लगाउँदा निकै कममा समस्या देखिएको हो । देश अनुसार रिपोर्ट फरक आउँछ । सबैमा यही प्रकारको लक्षण देखिन्छ भन्ने हुँदैन ।’ यो खोपको सुरक्षितताबारे डब्ल्यूएचओले नै प्रमाणित गरिसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका  प्रमुुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा पनि यो खोपलाई एकदमै सुरक्षित मान्छन् ।